बी० पी० बजगाईं, सिलगढी
मैले दुइदिन अघि नै क्यालेण्डरमा ३१ मार्च २०१८ –लाई दाग लगाएर राखेको थिएँ। यसदिन पहिलो दार्जीलिङ साहित्यिक भेट २०१८ (1st Darjeeling Literary Meet 2018) सिलगढीको होटल मैनाकमा सम्पन्न हुनेभएको थियो अनि यसै साहित्यिक भेटमा कवि राजा पुनियानीको दुईवटा मल्टिमिडिया कविता भ्रम पहाड अनि इन्काउन्टर स्क्रिनिङ हुनगइरहेको थियो। हुन त मैले यी दुवै कविताहरू पहिल्यै हेरिसकेको हो, दुईपटक युट्यूबमा अनि एकपटक सिक्किमको जोरथाङमा, कफी कवितामा। तर पनि म मैनाक होटल जान उत्सुक थिएँ। किनभने राजाको कविताले हाम्रो वर्तमान, हाम्रो सपनालाई सम्बोधन गरेको छ, म अनेपालीहरूमा यसको प्रतिक्रिया कस्तो हुन्छ भनेर जान्न चाहन्थें।
म मैनाक होटल पुग्दा बङ्गला नाटक, बङ्गला कविताहरूमाथि अलग अलग कोठामा सङ्गोष्ठी भइरहेको थियो। महँगो होटलमा भुँईंमा बस्ने आम मान्छेहरूलाई साहित्यमा कसरी सम्बोधन गरिने चर्चा भइरहेको थियो। हो, यहीं त फरक छ हाम्रो साहित्यमा, औपनिवेशिक संस्कारमा एकथरीले हाम्रो झर्रो जीवन भोगेका हुँदैनन्, महङ्गा होटलमा बसेर टाडाबाट नै हाम्रो गाला मुसार्न चाहन्छन्। हामी यसको ठीक विपरित झर्रो जीवन बाँच्छौं, अर्ग्यानिक कुरा लेख्छौं अनि आम मान्छेलाई साहित्यमात्र होइन व्यवहारमा अँगाल्छौं, किनभने हामी आफैं नै उपनिवेशवादको ढुङ्गाले चेप्ट्याएको भुँईं मान्छे हौँ।
केही क्षण अघिमात्र यस कार्यक्रमलाई पर्यटन मन्त्री गौतम देवले आरम्भ गरेर गएका रहेछन्। अब मैले भन्न परेन राजाले कस्तो स्थानमा कवितामा रौँ ठाडो हुनेगरी माटो र सिङ्गो पहाड देखाउन गइरहेको थियो। उनीहरूको ठूलो जमघटमा हामी केवल पाँचजना मात्र थियौं, म, राजा पुनियानी, समीर शर्मा, छेवाङ योन्जन अनि विजय काफ्ले। राजाको मल्टिमिडिया पोएट्रीका छायाङ्कन निर्देशक पल्लव आएका थिए तर कुनै कार्यले बाहिरिएका थिए।
राजाले मल्टिमिडियामा कविता देखाउँछसम्म थाहा थियो त्यहाँ उपस्थित भीडलाई, यो उनीहरू मध्ये धेरैलाई नयाँ प्रयोग थियो, यसैले हेर्न उत्सुक थिए। तर के देखाउँछ, देखाइने कुराको कन्टेन्ट के हो भन्ने कुराबाट केवल भीड होइन आयोजक पक्ष पनि अनभिज्ञ नै थिए। स्क्रीनिङ अघि राजाले मञ्चमा गएर कवितामा आम मान्छेको चासो मर्दै गएको देखेर नै आफूले कविता अनि यसको प्रभावलाई जिउँदो राख्न मल्टिमिडियाको सहयोग लिन थालेको बताए। यस कार्यमा उनका सङ्गीत पक्षका सहयोगी समीर शर्मालाई पनि मञ्चमा बोलाएर परिचय गराए।
हलको बत्ती बन्द गरियो…, शुरू हुन्छ “भ्रमपहाड”…, बज्छ भ्रम पहाडको साइरन उपनिवेशवादीहरूलाई होशियार गराउँदै।
कविताको प्रत्येक लाइनले मुक अँध्यारो चिर्दै थियो, “सुनमायाको पहाडी गर्भमा चे ग्वेभाराको खनाती छ…” अङ्ग्रेजी सब-टाईटलले त्यहाँको वातावरण चिसो बनाउँदै लग्यो। “चौरस्तामा घिसिङ, बिमल, मन र विनयहरू लीला नाच्दै गर्दा टोल-टोल अस्तित्व युद्धको नाटक खेल्छ हन्ड्रेड डेज, इन्दिरा आवास, प्रधान मन्त्री ग्राम सडक योजना…” दर्शकले बुझ्दै थिए, आन्दोलन रोकिएको होइन केवल बिसाएको हो भनेर।
“हजुर के दर्शक बोल्न पाउँछ? …चुप साले….” सबै चुप थिए। यो प्रस्तुति पहाडमा भएको भए जाडो महिनामा पनि वातावरण गर्मिएको हुन्थ्यो होला तर सिलगढीमा सबै चिसिँदै गएको थाहा लाग्दैथियो।
यसको लगत्तै पछि अर्को मल्टिमिडिया पोएट्री चल्न थाल्छ स्क्रीनमा… “इन्काउन्टर”…। “सखारै इन्काउन्टरमा भाषा मारिएको खबर हेडलाइनमा छ आज र लावारिस लडिरहेको त्यो भाषाको लाशले पर्खिरहेको छ आफ्नै पोस्टमार्टम तारिख…” “बास माग्दा घर किन जलाउँछ, जस्टिस माग्दा टेरोरिस्ट किन भनाउँछ” राजाको कविताले जति चिच्याउन थाल्यो अघि नै चिसिएको त्यहाँको वातावरणमा काँडा उम्रिँदै गएको थियो।
केहिदिन अघिमात्र स्टुडियो साउण्ड ट्रेकका समीर भाईले युट्यूबमा अपलोड गरेको नेपाली साङ्गीतिक संसारका महान विभूति स्व० अम्बर गुरुङको निबन्ध ‘कहाँ गए ती दिनहरू’ सुनेको थिएँ। त्यसमा भएको अम्बर गुरुङको एउटा भनाई राजा पुनियानीसँग ठ्याक्कै मेल खाएको देखें। गुरुङ भन्थे, “स्रोतालाई आफूतिर तानेर पाएको तन्मयताको प्रतिक्रियात्मक प्रबलताले मात्र गायकले प्रभावको प्रभुत्व जन्माउन सक्छ”।
राजा गायक होइन, कवि हुन्, गाउने कवि हुन्। तर अहिले राजाले कविता पाठकलाई पठनको निम्ति मात्र नछोडेर सुनाउने अनि सुनाएर कविताले जन्माउन सक्ने प्रतिक्रियात्मक प्रबलताले वर्तमान सोच्न बाध्य पार्ने काम गर्दैछन् मल्टिमिडिया पोएट्रीको सहायताले। त्यसैको प्रभाव थियो, “पहिलो दार्जीलिङ साहित्यिक भेट २०१८” –को त्यो कोठा सिलगढीको गर्मीमा पनि चिसिएको थियो।
कविता सकियो। बत्ती बल्यो। करैले केही चिसा थप्पडीहरू बजे। उनीहरू मध्ये धेरैको मनलाई सायद यहाँ, यो कसरी भयो भन्ने प्रश्नले थिचिरहेको थियो होला। धेरैले सायद हाम्रो दुखाई बुझ्ने पहिलो अवसर पाएका थिए होला अनि त्यस्ताहरूको अघि हामी सही पाटोमा उभिएको पनि थियौं होला। हामीलाई केही अपेक्षा थिएन, हामी त्यहाँबाट निस्कियौं। कमै बजेको चिसो थप्पडीमाझ निर्धक्क उभिएको थियो पुनियानीको माटो कविता। हामी कम थप्पडीमा पनि ठूलो छात्ती बनाएर त्यहाँबाट प्रस्थान गऱ्यौं। पछि के चर्चा भयो त्यहाँ थाहा भएन….
मलाई विश्वास छ, त्यसपछि विचार गर्नेहरूको टाउको पक्कै पनि फनफनी घुम्न शुरु भयो।
Via Times Doors
Post a Comment