गोजमुमोले पैसा र डर देखाएर जनतामा प्रभाव बनाउने कोसिस गरिरहेको छ - अनमोल प्रसाद

गोजमुमोले पैसा र डर देखाएर जनतामा प्रभाव बनाउने कोसिस गरिरहेको जन आन्दोलन पार्टीका प्रवक्ता अनमोल प्रसादको आरोप छ। जापको कार्यालयमा सम्पन्न पत्रकार सम्मेलनमा उनले मोर्चाको स्पष्ट नाम नलिएर पनि इशारा इशारैमा यस्तो आरोप लगाएका हुन्। जाप कार्यकर्ता र समर्थकहरूले मोर्चामा प्रवेश लिने घटना बढेको विषयलाई केन्द्र गरी पत्रकारहरूले सोधेको प्रश्नको उत्तर दिँदै जाप प्रवक्ताले मोर्चाले बाडिरहेको पैसा थाप्न जनता हिचकिचाउन नहुने तर भोट भने योग्य मान्छेलाई दिने बयान दिएका छन।

"हाम्रो विरोधी दलको दुइटा पुँजी छ। एउटा पुँजी चाहिँ पैसा हो अनि अर्को हो भय। योबाहेक उनीहरूको न घोषणापत्र छ न भविष्यको दिशा छ। उनीहरूले पैसा मजाले खर्च गरिरहेका छन्। तर डरको राजनीति गरेर लाभ लिने कुरामा भने मोर्चा पछि पर्दैछ। राजनीतिमा तानातान हुन्छ। तर हाम्रो अपिल के छ जनतालाई भने तपाईँहरूलाई लोभ देखाउँछ। काम र पैसा दिएर जनतालाई प्रभावित पार्ने काम भएको सुनिदैँछ। त्यो पैसा थाप्नोस, त्यो जनताकै पैसा हो। अहिले जन आन्दोलन पार्टी बिकल्प भएर अघि आएपछि नै यो पैसा निस्केको हो। पैसा थाप्नोस तर यो भोट पनि ठिक ठाउँमा हाल्नोस्" जाप प्रवक्ताले भने।

उनले तृणमूल कङ्ग्रेसको उम्मेद्वार सूचीमा जाप अध्यक्ष डा हर्कबहादुर छेत्रीको नाम आएको घटना अनौठो भए पनि यस्तो गल्ती अस्वभाविक भने नभएको बताएका छन। उनले यस घटनाको आन्तरिक छानबीन चलिरहेको जानकारी दिँदै अहिलेसम्मको जाँचमा कुनै दोषपूर्ण कारण देखा नपरेको बताए।
Anmol Prasad JAP
Anmol Prasad JAP
उनले भने, "जापले आन्तरिक जाँच जारी राखेको छ। यो अनौठो कुरा आघि आयो तर जाँचमा अहिलेसम्म दोष लाग्ने र कार्वाहीको हदमै जानु पर्ने अवस्था आएको छैन। हामीले यो दलको संरचना यसरी निर्माण गरेका छौं कि नेतृत्वबाट गल्ती भयो भने पनि हामी एक अर्कालाई सुधार्छौं। मेरो गोरूको बाह्रा टाका भनेर सुप्रिमो भएर बस्दैनौँ हामी। मलाई डा छेत्रीमाथि पूर्ण विश्वास छ"

दलका प्रवक्ता अनमोल प्रसादले जन आन्दोलन पार्टीले आफ्नो दलको प्रार्थीको नाम र चुनावी घोषणापत्र एकसाथ जारी गर्ने बताएका छन्। उनले घोषणापत्र बनाउने काम भएको बताउँदै चाढै नै दलले आफ्ना उम्मेद्वारहरूको नामको घोषणा गर्ने बताएका छन्। 'चार पाँच दिनभित्र हामी घोषणा गर्नेछौं" जाप प्रवक्ताले भने।

उनले तृणमूल कङ्ग्रेसले वेबसाइटबाट जाप अध्यक्ष डा हर्कबहादुर छेत्रीको नाम हटाइ सकेपछि सारा अन्योल स्पष्ट भएको दावी गर्दै भने, "डा हर्कबहादुर छेत्री नै हाम्रो दलका उम्मेद्वार हुन्। मुख्यमञ्त्री चुनाउ प्रचारमा आउँदैछिन, उनले सायद बयान दिएर यो कुरा स्पष्ट पार्नेछिन। यसको लागि हामीले प्रतीक्षा गर्नै पर्ने हुन्छ। किनभने टीएमसी हाम्रो पार्टी होइन, उनीहरूले के गर्छ गर्दैन यो उनीहरूलाई नै घोषणा गर्नु दिनु उचित हुनेछ। हाम्रो तर्फबाट चैँ हाम्रो जुन अडान थियो कि डा हर्कबहादुर छेत्री हाम्रो दलका अध्यक्ष हुन् र उनी नै हाम्रा उम्मेद्वार हुन भनेर जुन अडान लिएका थियौँ त्यो स्पष्ट हुँदै जादैँछ। खरसाङ र दार्जीलिङमा प्रार्थी दिने कुरा अहिले विचाराधीन छ। हामी यो चैँ हर्कबहादुर छेत्रीको नामसँगै घोषणा गर्न सक्दैनौं। यो चैँ हामी विस्तारै उजागर गर्दै जानेछौं। उम्मेद्वार दिने न दिने अहिले तय भएको छैन" प्रसादले चुनाउ आयोगमा पार्टीको पञ्जिकरणको प्रक्रिया पुगेको बताउँदै पञ्जिकृत दलको रूपमा चुनाउ लड्ने आशा राखेको बताए।

"हामीले चुनाउ आयोगलाई भनेका छौं कि हामी नयाँ दल हौं अनि मुखैमा चुनाउ छ। यसकारण हाम्रो दलको पञ्जिकरणको प्रक्रिया चाढै गरियोस् भनेर अर्जी गरेका छौं। दिल्लीका साथीहरूले यसको फलोअप गर्दैछन्। पञ्जीकरण भयो भने एउटा पञ्जिकृत पार्टीकै हैसियतमा चुनाउ लड्छौँ हामी। चुनाउ अघि पञ्जिकरण हुन सकेन भने निर्दलको रूपमा चुनाउ लड्छौं। मलाई लाग्छ, जनतामा हाम्रो अस्तित्व स्थापित भइसकेको छ। हामी किन र केका लागि निस्केका हौं भनेर जनताले बुझिसकेका छन"


Share this:

Post a Comment

 
Copyright © Indian Gorkhas. Designed by Darjeeling Web Solutions