विधायिका सरिता राईले पहाड़को प्राथमिक शिक्षा, कृषि विश्वविद्यालय, केन्द्रिय विश्वविद्यालयको निर्माण गरिनुपर्ने विषयमा जोड़ दिइन्

विधायिका सरिता राईले दार्जीलिङ पहाड़को प्राथमिक शिक्षा व्यवस्थाको सुढृढ़ीकरण, कालेबुङको उत्तर बंग कृषि विश्वविद्यालयको पुनर्सञ्चालन, केन्द्रिय विश्वविद्यालय निर्माण गरिनुपर्ने विषयमा जोड़ दिइन्।

विधानसभामा आफ्नो सम्बोधनको क्रममा कालेबुङ विधानसभा समष्टिक्षेत्रका विधायिका सरिता राईले दार्जीलिङ पहाड़को प्राथमिक शिक्षा व्यवस्थाको सुढृढ़ीकरण, कालेबुङको उत्तर बंग कृषि विश्वविद्यालयको पुनर्सञ्चालन एवं अनि सबै वर्गका कर्मचारीहरूको समान सहुलियत अनि अवसर प्रदान गरिनुपर्ने विषयमा जोड़ दिइन्।
गत 17 जूनको दिन राज्यपाल केशरीनाथ त्रिपाठीले समग्र राज्यवासीहरूको पक्षमा राज्यवासीहरूलाई समान विकासतिर अग्रसर गरिनुपर्ने, उत्तर बंगालक्षेत्रका चियाकमान अनि चियाश्रमिकहरूको उत्थान गरिनुपर्ने तथा राज्यमा सर्वाङ्गीन शिक्षा विकास गरिनुपर्ने विषयहरूमाथि आफ्नो वक्तव्य पेश गरेका थिए भने उक्त प्रस्तावहरूमाथि प्रतिक्रिया व्यक्त गर्नको निम्ति विधायिका राईलाई आज 5 मिनटको समय दिइएको थियो। सोही अवधिमा उनले राज्यपालको उक्त वक्तव्यको स्वागत अनि समर्थन गर्दै दार्जीलिङ पहाड़का उक्त तीनवटा महत्वपूर्ण मुद्दाहरूमा विधानसभामा प्रस्तुत गरेकी हुन्।

कालेबुङका विधायिकाले मुख्यरूपमा अव्यवस्थित अनि अचल प्रायः अवस्थामा रहिआएका कालेबुङका उत्तर बंग कृषि विश्वविद्यालयलाई व्यवस्थितरूपमा सञ्चालन गरिनुपर्ने विषयमा जोड़ दिइन्। उक्त विश्वविद्यालयको 30 ऐकर जमीन हालसमाम पनि सुरक्षित रहेको उल्लेख गर्दै विधायिका राईले भनिन्- कालेबुङ दार्जीलिङ पहाड़को सबैभन्दा ठूलो महकुमा हो अनि यस महकुमाभित्र 60 प्रतिशतभन्दा अधिक मानिसहरू कृषिमाथि नै निर्भर रहेका छन्। यसैले सोचनीय अवस्थामा रहेको कालेबुङको कृषि विश्वविद्यालयलाई व्यवस्थित बनाई सुचारूरूपमा सञ्चालन गरिएको खण्डमा यसक्षेत्रका कृषिसित सम्बन्धित उक्त मानिसहरूलाई धेरै सहयोग प्राप्त हुनेछन्। यस क्षेत्रका विद्यार्थी अनि किसानहरूलाई कृषिको क्षेत्रमा नयाँ तकनीक अनि कौशलहरू सिक्ने अवसर प्राप्त हुनेछ। यसैले राज्य सरकारले यस विषयलाई गम्भीरतापूर्वक लिइदिने म उक्त क्षेत्रको विधायिकाको नाताले अपील गर्दछु। यसरी कालेबुङका उत्तर बंग कृषि विश्वविद्यालयको समस्यामाथि बोल्दा आज राज्यका कृषि मन्त्री पुर्नेन्दु बोस पनि विधानसभामा नै रहेका थिए भने विधायिकाले कृषि मन्त्रीलाई पनि यस विषयमा ध्यान दिने अपील गरिन्।
सरिता राई
सरिता राई
यसबाहेक विधायिका राईले दार्जीलिङ पहाड़को प्राथमिक शिक्षा व्यवस्थामाथि पनि चिन्ता व्यक्त गर्दै राज्य सरकारले यस दिशामा पनि पहल गर्न आवश्यक रहेको आफ्नो सम्बोधनको क्रममा विचार व्यक्त गरिन्। मुख्यरूपले दार्जीलिङ पहाड़का प्राथमिक पाठशालाहरूमा लामो समयदेखि शिक्षक नियुक्ति नभएको कारणले गम्भीर समस्या उत्पन्न भइरहेको उल्लेख गर्दै उनले भनिन्- दार्जीलिङ पहाड़को प्राथमिक पाठशालाहरूमा धेरै लामो समयदेखि शिक्षक नियुक्ति गरिएको छैन। अधिकाशं विद्यालयहरूमा सबै शिक्षकहरू अवकाश ग्रहण गरिसकेका छन् भने धेरैवटा पाठशालाहरू प्रधान अध्यापकबिनै अनि केवल स्वयंसेवी अनि अस्थायी अनि पारा शिक्षकहरूको भरमा सञ्चालन भइरहेको छ। यसले गर्दा धेरै पाठशालाहरूमा ताला लाग्ने अवस्था रहिआएको छ भने बाँकी अन्य पाठशालाहरूमा पनि शिक्षा व्यवस्था डावाँडोल अवस्थामा रहिआएको छ। यसैले पहाड़को प्राथमिक शिक्षाको विकास अनि व्यवस्थापन गर्नुको निम्ति सरकारले शिक्षक नियुक्तिको साथसाथै विभिन्न समस्याहरूको निराकरणमाथि ध्यान दिन राज्य सरकारप्रति म अपील गर्दछु। विधायिका राईले सम्बोधनको क्रममा विधानसभामै उपस्थित रहेका शिक्षामन्त्री पार्थ च्याटर्जीलाई पनि यस विषयमा पहल गरिदिने अपील गरिन्।

हिजो दार्जीलिङ विधानसभाका विधायक अमरसिहँ राईले विधानसभामा उठान गरेको सी अनि डी वर्गका कर्मचारीहरूसितै ए अनि बी वर्गका कर्मचारीहरूको पनि वेतन वृद्धि गरिनुपर्ने वक्तव्यलाई पनि समर्थन जनाइन्।
यस विषयमा जोड़ दिँदै उनले भनिन्- सी अनि डी वर्गका कर्मचारीहरूको मात्रै वेतन वृद्धि गरिएपछि दार्जीलिङ पहाड़मा पनि ए अनि बी वर्गका कर्मचारीहरू असन्तुष्ट भएर धरना अनि आन्दोलन गरिरहेका छन्। यसले गर्दा जीटीएलाई प्रशासनिक कार्यहरूमा पनि धेरै बाधा भइरहेको छ। ए अनि बी वर्गका कर्मचारीहरूमा अभियन्ता, शिक्षकलगायत अन्य महत्वपूर्ण ओहोदाका कर्मचारीहरू पर्न जान्छन्। तथापि उनीहरूको वेतन वृद्धि नभई सी अनि डी को मात्रै वृद्धि भएकोले गर्दा तनाखाको हिसाबमा उनीहरू सी अनि डी कर्मचारीहरूभन्दा पछाड़िएका छन्। यसैले उनीहरू आन्दोलनमा उत्रिएका छन्। यस गम्भीर समस्यामाथि विचार गरी राज्य सरकारले यथाशीघ्र समाधानसूत्र निकाल्न आवश्यक रहेको छ।

यसबाहेक कालेबुङका विधायिकाले जीटीएको सम्झौतामा पनि उल्लेख रहेको केन्द्रिय विश्वविद्यालय निर्माणको निम्ति पनि राज्य सरकारले आफ्नो तर्फबाट आवश्यक सहयोगहरू जीटीएलाई पुराइदिने पनि अपील गरिन्।


Share this:

Post a Comment

 
Copyright © Indian Gorkhas. Designed by Darjeeling Web Solutions