प्यारी दिदी ममता..... !!

Writes: Dipendra Dipzo Khati

हजुर नै ममताको खानी
हजुर नै हाम्रो भूमिको रानी
खै के चड़ाऊँ उपहार हजुरलाई
यै चिया मजदुरको भोको पेट मात्र छ
त्यै नै सुम्पिए ! तोफा कबुल करो.... !

सेतो सारीमा तँपाईलाई देख्दा
मदर टेरेसा नै बिर्सिन्छु
खै के चड़ाऊँ भेटी हजुरलाई
यै डुवर्समा भोकले मरेको लाश मात्र छ
त्यै नै सुम्पिए ! तोफा कबुल करो.... !

हजुर नै हाम्रो मार्गदर्शक
हजुर नै हाम्रो रक्षक
खै के दिऊँ हजुरलाई गुरु दक्षिणा
यै भात्री कटास् मात्र छ
त्यै नै सुम्पिए ! तोफा कबुल करो.... !

हजुर नै हाम्रो पालनहार
हजुर नै हाम्रो अन्नदाता
खै के चड़ाऊँ लगान हजुरलाई
यै काम नलागेको डिग्री मात्र छ
त्यै नै सुम्पिए ! तोफा कबुल करो.... !
प्यारी दिदी ममता
प्यारी दिदी ममता
हजुर नै हाम्रो मालिक धनी
हजुर नै हाम्रो जीउनी
खै के अर्पण गरूँ हजुरलाई
यै पानी चुहुने छानो र घोप्टो परेको मानो मात्र छ
त्यै नै सुम्पिए ! तोफा कबुल करो.... !

दर्शन नै काफी छ हजुरको यहाँ
'पहाड़ हाँस्छे ' गीत गाउनलाई
अहोभाग्य हुने थियो मेरो
हजुरको हातको रोटीको टुक्रा पाऊँनलाई
धेरै सकिन हजुर, यै आत्मासम्मान मात्र छ
त्यै नै सुम्पिए ! तोफा कबुल करो.... !

मुर्ख थिए मेरा बाऊ बाजे
खोजी हिँड़े माटो र मान
कायर थिए ती शहीदहरू
ब्यर्थै गुमाए ज्यान
यै साँग्लोमा बाँधिएको प्राण मात्र छ
त्यै पनि सुम्पिए ! तोफा कबुल करो.... !

Share this:

Post a Comment

 
Copyright © Indian Gorkhas. Designed by Darjeeling Web Solutions