गोर्खाल्यान्डको लागि जनमत भएको गोजमुमोले गोर्खाल्याण्ड ल्याउनुपर्ने हो- अमर लामा

एक साता अघि अस्तित्वमा आएको नयाँ राजनैतिक दल जन आन्दोलन पार्टी (जाप)-का शीर्ष नेताहरूले अलग राज्यको मुद्दामा मोर्चा नेताहरूको टिप्पणीको प्रतिक्रिया दिएका छन। दलको आन्तरिक साङ्गठिक बैठकमा भाग लिन कालेबुङ आएका जापका ब्युरो प्रमुख डा महेन्द्र पी लामा, सदस्यहरू अनमोल प्रसाद, अमर लामाले मोर्चा नेताहरूले जापको मुद्दा र कार्यक्रमहरूबारे टिप्पणी गर्नको साटो आफ्नो दलको मुद्दा र जनतासँग गरेका वचनहरू पूरा गर्न आफ्नो उर्जा लगाउनु पर्ने सुझाउ दिएका छन्। आन्तरिक बैठकपछि आयोजित पत्रकार सम्मेलनमा दलका अध्यक्ष डा हर्कबहादुर छेत्री, ब्युरो प्रमुख डा महेन्द्र पी लामा, अनमोल प्रसाद, अमर लामाले पत्रकारहरूले सोधेको प्रश्नहरूको उत्तर दिएका थिए। गत 27 जनवरीक दिन कालेबुङमा भएको जनसभामा मोर्चा नेतृत्वले जापको घोषणापत्रमा गोर्खाल्यान्डको मुद्दा उल्लेख नभएको दावी गर्दै आलोचना गरेका थिए। दलको ब्युरो चेयरमेन डा लामाले यो सम्बन्धमा प्रतिक्रिया जनाउँदै भने, “केन्द्रमा त्यही दल छ जसले तीनवटा नयाँ राज्यहरूको गठन गरिसकेको छ। गत विधानसभा चुनामा बिजेपीले आन्ध्रप्रदेशमा एक भोट, दुइ स्टेटको नारामा चुनाउ लडेकै हो। त्यही बिजेपीको उम्मेद्वारलाई यहाँबाट लोकसभा चुनाउ जिताएर पठाइयो। अहिले संसदमा गोर्खाल्यान्डको बील ल्याउन यो दललाई के समस्या छ? मोर्चा नेताहरूले कालेबुङका जनतालाई दिग्भ्रमित पार्ने कुराहरू किन गर्छन्? उनीहरू यति ठूलो ठूलो कुरा गर्छन तर खास गर्नुपर्ने कुरै गर्दैनन। मोर्चाले बिजेपीलाई संसदमा गोर्खाल्याण्डको बील ल्याउन लगावोस्। केन्द्रीय विश्वविद्यालय, मेडिकल संस्थानहरूको बील ल्याउन लगावोस्। कुरै सकिहाल्छ नि” यता, ब्युरो सदस्य अमर लामाले पनि आफ्नो प्रतिक्रिया जाहेर गर्दै चुनाउमा जनमत पाएर गएको दलले भर्खरै अस्तित्वमा आएको दललाई गोर्खाल्यान्डको निम्ति दबाउ दिनु युक्तिसङ्गत नहुने बताएका छन। गोजमुमोले गोर्खाल्याण्डको निम्ति जनमत प्राप्त गरेको कारण यसको गठनलाई लिएर पनि यही दल अधिक जिम्मेवार र जवाफदेहि हुनु पर्ने लामाको भनाइ छ।
गोर्खाल्यान्डको लागि जनमत भएको गोजमुमोले गोर्खाल्याण्ड ल्याउनुपर्ने हो- अमर लामा
“जुन दलको आफ्नो मेनिफेष्टो छैन, त्यही दलका नेताहरूले हाम्रो मेनिफेष्टोलाई माइक्रोसकोप लगाएर हेर्ने के काम छ? बिजेपीको घटक दल बनेर मोर्चाले अहलुवालियालाई सांसद बनाएर पठाएको हो। मोर्चालाई 2019सम्म गोर्खाल्यान्डको लागि जनमत छ। घटक दल भएको नाताले प्रधानमञ्त्री, गृहमञ्त्री, सांसद सबै उनीहरूकै छ। उनीहरूले चैँ वास्तवमा गोर्खाल्यान्ड ल्याउनु पर्ने हो। यद्यपि, हामी नयाँ पार्टी भएर पनि आफ्नो घोषणापत्रमा अलग राज्यको मुद्दालाई शीर्ष स्थानमा राखेका छौं” वरिष्ठ अधिवक्ता लामाले भने।

Via Kalimpongpost

Share this:

Post a Comment

 
Copyright © Indian Gorkhas. Designed by Darjeeling Web Solutions